कुलमान घिसिङले गरे हेटौंडामा निर्माणाधीन सब स्टेशनको अनुगमन
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/kulman_ghising-htd-e1685247056720.jpg)
मकवानपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्माणाधीन सब स्टेशनको अनुगमन गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, स्थित थानाभर्याङमा निमाणाधीन सब स्टेशनको अनुगमन गरेका हुन् । सो क्रममा उनले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेशनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए ।
आगामी असारभित्र सब स्टेशनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको ठेकेदार कम्पनीहरूले प्रतिबद्धता विपरीत निर्माण स्थलमा कुन काम नगरेको भन्दै उनले काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।
उनले सब स्टेसन निर्माण स्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिएका हुन् ।
साथै उनले भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन समेत दिए ।