बागमती प्रदेश सभा बैठकबाट संकल्प प्रस्ताव स्वीकृत
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/bagamati-pradeshsabha-jeth-17.jpg)
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट एउटा संकल्प प्रस्ताव स्वीकृत भएको छ । प्रदेश सभाको बुधबार अपराह्न बसेको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै संकल्प प्रस्ताव पेश गरेका थिए ।
उनले नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए । उनले पेश गरेको उक्त संकल्प प्रस्तावलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
पौडेलले पेश गरेको उक्त प्रस्तावमा प्रदेश सभामा सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।
संंकल्प प्रस्ताव पेश हुनुअघि प्रदेश सभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।