मकवानपुरको मनहरी र राक्सिराङमा पनि विद्यालय बन्द

तु खबर संवाददाता
२०८० जेष्ठ २१,आईतवार १६:५९

मकवानपुर । अत्याधिक गर्मी बढेसँगै मकवानपुरको विभिन्न स्थानीय तहले भटाभट विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मी बढेसँगै मकवानपुरको मनहरी र राक्सिारङ गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै भोलि सोमबारबाट पाँच दिन पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

ती दुबै पालिकाले अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टी हुनेगरी पाँच दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

जारी सूचना अनुसार, पालिकाभित्र रहेका सबै विद्यालयमा भोलि जेष्ठ २२ गते सोमबारदेखि जेष्ठ २६ गते शुक्रबारसम्म पठनपाठन बन्द रहनेछ ।
यस्तै, आइतबार नै मकवानपुगढी गाउँपालिकाले पनि सूचना जारी गर्दै भोलि जष्ठ २२ गतेदेखि २६ गतेसम्म पाँच दिन पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले ६ दिन र बकैया गाउँपालिकाले ७ दिन पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । ती दुबै स्थानीय तहका विद्यालयमा आजदेखि पठनपाठन बन्द गरिएको हो ।

मकवानपुरकामा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको छ । तीमध्ये हालसम्म हेटौंडा उपमहानगरपालिका र चार वटा पालिकाले वर्षे विदाबाट कट्टी हुनेगरी गर्मी विदा दिइएको हो ।