शिवम् सिमेन्टलाई पहिरो नियन्त्रण नगरे कारबाही गर्ने प्रशासनको चेतावनी
मकवानपुर । प्रतिनिधि सभा सांसद् महेश बर्तौला र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतको टोली शिवम् सिमेन्टको मकवानपुरगढीस्थित चुनढुङ्गा उत्खनन्का लागि सञ्चालित खानी क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका छन् ।
खानीका कारण सामरी नदिमा बाढी आउने जोखिम बढेको र खानी क्षेत्रमा सुख्खा पहिरो गएको भन्ने विषयमा स्थानीयले गुनासो गरेपछि सांसद् बर्तौला र सिडीओ पाण्डेलगायतको टोलीले घटनास्थलको बस्तुस्थितिबारे जानकारी लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख र जिल्लास्थित सशस्त्र प्रहरी प्रमुखलगायत अन्य सम्बन्धित निकायका प्रतिनिधिसमेतको उपस्थितिमा खानी क्षेत्रको अनुगमन गरिएको सीडिओ पाण्डेले बताए ।
घट्नास्थल अवलोकन गरेर वस्तुस्थिति बुझेपछि अब शिवम् सिमेन्टको तीन वटै खानी पूर्ण रुपमा बन्द हुने आमभन्ज्याङ भालुखोलाका स्थानीयबासीको विश्वास छ ।
स्थानीयबासी हरि बजगाँईले अब बन्द हुनेमा आशावादी रहेको बताए । उनले भने, ‘सयौं स्थानीयबासीको घर खेत जोखिममा रहेको कुरा माननीयज्यूले नै प्रत्यक्ष हेरेपछि अब त रोकिन्छ होला कि?’
अनुगमन टोलीले चुनढुंगा निष्काशन गरेर फ्याकिएको ढुंगा माटोका कारण पहिरो जाने जोखिम रहेको निष्कर्ष निकाल्दै स्थानीयबासीको जीउधनको सुरक्षा गर्न सरकारले कडा कदम चाल्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ ।
त्यसको लागि तत्कालै शिवम् सिमेन्टलाई पहिरो गएको ठाउँ तथा चुनढुंगा उत्खनन गरेर फ्याकिएको फोहोरलाई बाढीमा परिणत हुन नदिन आवश्यक चेक ड्यामहरु तत्कालै बनाउन निर्देशन दिइएको छ ।
सो टोलीमा सहभागी एक सदस्यले भने, ‘विगतमा पनि पटक पटक निर्देशन दिएको हो । तर, कम्पनीले पालना नगरेको पायौं, यस पटक तत्काल चेक ड्याम बनाएर पहिरो रोक्ने काम नगरे कडा कारवाही गर्न बाध्य हुने चेतावनी दिइएका छौं ।’
यता, उद्योगले प्रशासनले भने बमोजिमका ड्यामहरु बनाउन नसकिने बरु सिमेन्ट उद्योग नै बन्द गर्ने कम्पनीको पुरानो अडान कायमै रहेको प्रतिक्रिया दिएको छ ।
पछिल्लो पटक शिवम् सिमेन्टले स्थानीयबासीको कडा विरोध र प्राकृतिक प्रकोपमा परेर सुख्खा पहिरोको सामना गर्नुपरेपछि सो कम्पनीका मुख्य सञ्चालकसहितका सञ्चालकहरुले आफ्नो शेयर धमाधम बिक्री गर्दै आएका छन् ।
कम्पनीका संस्थापक मध्येका एक तथा पूर्व अध्यक्ष सुरेन्द्र गोयलले त आफू अध्यक्ष पदमा हुँदा हुँदै अंशबण्डाको नाममा करोडौं रुपैयाँको शेयर उच्च मूल्य भएको मौका पारेर बिक्री गरेका थिए । पछिल्लो समय शिवम् सिमेन्टको शेयर धमाधम बिक्री हुने क्रम जारी छ ।