समस्याको चाङमा सङ्घर्ष गरिरहेका छौँः सन्तोषी बनकरिया

तु खबर संवाददाता
२०८० जेष्ठ ३२,बिहीबार १८:३०

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा लोपोन्मुख वनकरिया समुदायको बसोबास छ । सो क्षेत्रमा यस समूदायका २२ घरधुरी बसोबास गर्छन् । ४६ जना महिला र ४३ पुरुष गरी उनीहरुको कूल संख्या ८९ रहेको छ । देशका अन्य भू–भागमा यो समूदायका मानिसहरुको बसोबास छैन ।

विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रुपमा सूचीकृत भएका बनकरियाहरुको संख्या सानो भएपनि समस्या भने ठूलो छ ।

२३ वर्षअघि फिरन्ते जीवनशैली त्यागेर मुसेधापकै जंगलमा बसोबास गर्दै आएका उनीहरु अझै पनि सुकुम्वासी छन् । २०६४ सालमा २० वर्षको लागि सो क्षेत्रमा अस्थायी बसोबासको अनुमति पाएका उनीहरुले आफ्नै नाममा भूमिको स्वामित्व भने पाउँन सकेका छैनन् ।

अझै पनि वर्षभरी खानलाई जंगलका कन्दमुलको सहारा लिनुपर्ने अवस्था छ । शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य अवसरबाट उनीहरु टाढा छन् । सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा समुदायका ५ जनाले मात्रै एसइइसम्मको अध्ययन पूरा गरेका छन् ।

समस्याको चाँङमा संघर्ष गरिरहेका बनकरिया समूदायको विषयमा तु खबरले सन्तोषी बनकरियासँग जान्ने प्रयास गरेको छ । उनी आदिवासी जनजाती महिला मञ्चमा सहजकर्ताको रुपमासमेत कार्यरत छिन् । उनीसँग बनकरिया समूदायको भाषा, संस्कृति, रहनसहन, आर्थिक, सामाजिकस्तरलगायत समग्र विषयमा तु खबरले गरेको कुराकानीको सम्पादित अंश ।

सवालः बनकरिया समूदायको मुख्य समस्या के हो ?

जवाफः प्रश्नको लागि धन्यवाद । हामी जंगलमा खाने, जंगलमा बस्ने र जंगलमै रमाउने खालको जीवनशैली त्यागेर अहिले अन्य समुदायका मानिसहरु जस्तै समुदायमा बस्न थालेको धेरै भएको छैन ।

२/३ दशक अघि मात्रै हामी सामुहिक रुपमा बस्न थालेका हौँ । त्यसअघि यस समूदायका मानिसहरुको जीवनशैली फिरन्ते खालको थियो । छोटो समयमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न परिवर्तन भएका छन् । तर, ती पर्याप्त छैनन् । अझ भनौँ, हामी सुकुम्बासी छौँ । आफ्नो नाममा एक टुक्रा जग्गा छैन । सबैखाले अवसरबाट हामी टाढा छौँ ।

समुदायको संरक्षण पहिलो जिम्मेवारीको रुपमा रहेको छ । भाषा, संस्कृतिको जगेर्ना अर्को चुनौतीको रुपमा देखिएको छ । चेतनास्तर न्यून छ । ठूलो आर्थिक चपेटामा छौँ । जति दुख गरेपनि वर्षभरी खानलाई पुग्ने अन्न हुँदैन । अझै पनि जंगली कन्दमुलको सहारा लिनुपर्ने अवस्थामै छौँ ।

सवालः सरकारी वा गैरसरकारी संघ/संस्थाबाट समूदायको हितको लागि केही भएको छैन ?

जवाफः नभएको होइन, धेरै भएको छ । तर, त्यो पर्याप्त छैन । सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा छानामुनी बस्न सक्ने भएका छौँ । खेती गर्नुपर्छ, अन्न उब्जनी गर्नुपर्छ । शिक्षा दिक्षा लिनुपर्छ भन्ने खालको चेतनाको विकास भएको छ ।

समुदायका केही बालबालिका अहिले विद्यालय गएर अध्ययन गर्ने वातावरण बनेको छ । मैले कृषि जेटिएसम्मको अध्ययन पूरा गरेको छु । अन्य ५ जनाले एसएलसीसम्मको अध्ययन गर्नुभएको छ । थुप्रै बालबालिका विद्यालय जान थालेका छन् । नभएको भन्ने होइन । तर, हाम्रो समस्या उस्तै छ । हामी सुकुम्बासी नै छौँ । भोगचलन गरेको २ दशकबढी भइसक्यो, अझै जग्गा आफ्नो नाममा आएको छैन । सम्बन्धित निकाय, मन्त्रि, सांसदलगायत सबैलाई आफ्नो गुनासो बेलाबेलामा राख्छौँ । तर, सुनुवाई भने भएको छैन ।

हामी निकै ठूलो आर्थिक चपेटामा भएकाले अब अरुले सहयोग गर्ने मात्रै भन्दा पनि आफैँ आत्मनिर्भर हुन पाए राम्रो हुने थियो ।

सवालः तपाईहरु आफैँ आत्मनिर्भर बन्नका लागि राज्यले के गरिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ ?

जवाफः बनकरिया समूदायलाई राज्यले विशेष प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ । समुदायका सबै नभएपनि कम्तिमा एउटा घरको एक जना मात्रै भएपनि रोजगार भएको अवस्थामा आर्थिक समस्याको समाधान हुने थियो ।

त्यसका लागि राज्यले रोजगारीको अवसर दिनुपर्यो । सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्यो । स्थानीय साना तथा घरेलु उद्योग सञ्चालनका लागि बीउपूँजी उपलब्ध गराइदिनुपर्यो । आड भरोषा दिनुपर्यो । हाम्रो कहीँ कतै भन्ने ठाउँ छैन । यो समूदायका मानिसहरु उच्च पदमा वा नेतृत्वमा कोही पनि छैनन् । कोही राम्रो सँग बोल्नै जान्दैनन् । त्यसैले राज्यले विशेष प्राथमिकता दिनुपर्छ ।

सवालः तपाईहरुको भाषा, धर्म र संस्कृतिबारे जानकारी गराइदिनुस् न ? त्यसलाई संरक्षण गर्न के गर्नुपर्ला ?

जवाफः हाम्रो आफ्नै भाषा छ । बाउबाजेले जानेका थिए । अहिले केहीलाई अलिअलि मात्रै थाहा छ । त्यसको संरक्षणको लागि अब जानेकाहरुबाट संकलन गरी भाषाको रुपमा विकास गर्नुपर्छ । राज्यले यसका लागि सहयोग गर्नुपर्छ ।

हाम्रो धर्म प्रकृतिको पुजा गर्ने हो । यो धर्म भन्ने छैन । आजभोली सामाजिक रहनसहन, अन्य समूदायसँगको संगतले दशैँ तिहार जस्ता नेपालीहरुको चाडपर्व मनाउन थालेका छौँ । नेपाली संस्कृतिसँग घुलमिल भइरहेका छौँ । हाम्रो आफ्नै संस्कृति पनि छ । मैले अघि नै भनिसकेँ, यी सबैको संरक्षण गर्न हामीबाट मात्रै सम्भव छैन । राज्यले सहयोग गर्नुपर्छ ।

सवालः तपाईहरु त लेखपढ गर्नुभएको छ । बनकरिया समूदायमा चेतनास्तर अभिवृद्धि गर्न तपाईहरुले चाँही पहल गर्नुभएको छैन ?

जवाफः हामीले सके÷भ्याएसम्म गरिरहेकै छौँ । साँझ, विहान समूदायका बालबालिकालाई पढ्न लेख्न सिकाउँछु । आफुले जानेका, बुझेका कुरा बाँड्छु ।

म पनि ५/७ वर्षअघिबाट सहजकर्ताको रुपमा काम गर्न थालेको हुँ । अहिले उभिएर बोल्न सक्ने, आफ्ना कुरा राख्न सक्ने भएको छु । आफुले जानेका कुराहरु समूदायका बालबालिकालाई सिकाइरहेको छु । मसँगै पढेका साथीहरुले पनि मेरो अभियान केही सहयोग गरिरहेकै छन् ।

सवालः तपाई बनकरिया समुदायकै सबैभन्दा शिक्षित हुनुहुन्छ । समूदायको हितका लागि भविष्यमा के गर्ने सोच छ ?

मलाई त धेरै गर्न मन छ । तर, एक्लैले केही पनि गर्न सकिँदैन । त्यसका लागि सबै एकजुट हुनुपर्छ । सबैको सहयोग आवश्यक छ ।
बनकरिया समूदायका सबैलाई जग्गाको स्वामित्व दिलाउन मन छ । सीपमुलक तालिम दिएर रोजगारीसँग जोड्न मन छ ।

आर्थिक अवस्था उकास्दै, शिक्षा, स्वास्थ्यलगायतको पहुँच स्थापित गर्दै समूदायमा चेतनाको उज्यालो बाँड्न मन छ । आफ्नो पहिचानको संरक्षण गर्दै, अन्य समूदाय सरह बनाउन मन छ ।

सवालः अन्त्यमा के भन्न चाहानुहुन्छ ?

जवाफः यो समूदायलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु । हामी अझै धैरै ठूलो समस्याबाट गुज्रिरहेका छौँ । राज्यको नजर हामीतिर परोस् । बनकरिया समुदायको संरक्षण तथा उत्थानका लागि सबैको सहयोग आवश्यक छ ।

आफैँले उब्जाएको अन्नले वर्षभरी खान पुग्ने आधार राज्यले बनाइदिए वनकरिया समूदायको हित हुने थियो । हाम्रो आर्थिक अवस्था परिवर्तन र आत्मनिर्भर बनाउनका लागि सबैले पहल गरिदिनुहोला । तपाईको सञ्चार माध्ययमलाई पनि धन्यवाद दिन चाहान्छु ।