सङ्खुवासभा बाढीपहिरोमा परेर अझै २० जना बेपत्ता, खोजीकार्य जारी

तु खबर संवाददाता
२०८० असार ५,मंगलवार १५:३८

सङ्खुवासभा । केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर सङ्खुवासभाका तीन विभिन्न स्थानका २० जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि हिजो साँझ एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर रहेका छन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एक जना मजदुर पनि अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ ।