सांसद बर्तौलाद्वारा विद्यालय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन् ।
सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरूको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने उनको भनाई छ ।
विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै उनले यस्तो तलवले कसरी उनीहरूको गुजारा चल्न सक्छ ? भनि सरकारलाई प्रश्न गरे ।
उनले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको गम्भीर ध्यानाकर्षण समेत गराए ।