विद्युत सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नु पर्ने
मकवानपुर । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले कल सेन्टर संचालनमा ल्याएको छ ।
विद्युत सम्बन्धी सर्वसाधारणको गुनासो सुन्नका लागि कल सेन्टर संचालनमा ल्याएको डिभिजन प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
उनका अनुसार, विद्युत सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्ने हुन्छ । यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालय अन्तर्गत पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रको उपभोक्ताले आफ्नो गुनासो टिपाउन सकिनेछन् ।
तत्काललाई कल सेन्टरमा ४ वटा फोन राखिएको छ । बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्न सक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।
प्राधिकरणका सूचना प्रविधि विभागका सुजन श्रेष्ठले एक महिनापछि बाँकी वितरण केन्द्रमा पनि यो सेवा सुरु गरिने जानकारी दिए ।