राष्ट्रपतिको उपचार खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई पत्र
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेललाई गत बैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो ।
अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिएको थियो ।
सोही सहमति अनुसार परराष्ट्रले राष्ट्रपतिको उपचारका लागि भएको यथार्थ खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानी दिने प्रयोजनका लागि निकासा गरिदिन अर्थलाई नै पत्राचार गरेको हो ।
परराष्ट्रका अनुसार, राष्ट्रपति पौडेलको उपचारका लागि भएको कूल खर्चमध्येको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको थियो ।