कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएका छौँः मेयर विष्ट

तु खबर संवाददाता
२०८० असार २०,बुधबार १३:४३

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण छ । साविकका पहाडि गाउँ विकास समितिहरु दामन, पालुङ् र बज्रबाराहीको सम्पूर्ण भूभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । जनतालाई सुुसूचित एवम् जागरुक बन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाएका स्वर्गीय रुपचन्द्र विष्टको स्मरण गर्दे यस नगरपालिकाको नामाकरण गरिएको हो ।

दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।

समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । यो क्षेत्रलाई नगरपालिकाले ग्रामीण पर्यटनको अवधारणामा विकास गरिरहेको छ ।

हिन्दू र तथा बौद्धमार्गीको बासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनी ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । पर्यटकहरुले होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् । धर्म संस्कृति, कृषि उत्पादन तथा पर्यटन र अन्य सम्भावना केन्द्रको रुपमा रहेको यस ठाउँको विकासका लागि स्थानीय सरकारले के गरिरहेको छ त भन्नेबारे तु खबरले जान्ने प्रयास गरेको छ । प्रस्तुत छ थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट ‘आदर्श’ सँग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईले थाहा नगरको नेतृत्व सम्हाल्नुभएको झण्डै एक वर्ष भयो । यो अवधिमा अनुभव कस्तो रह्यो, नगरवासीकोे समस्याहरु के–कति सम्बोधन भए ?

धन्यवाद । झण्डै एक वर्षको आवधि सिकाई र गराईमा नै बित्यो । हामीले जनताकै चासो गुनासोको विषय र उहाँहरुको प्रमुख आवश्यकता के हो भन्ने पहिचान गरेर काम गरिरहेका छौँ । यसअर्थमा हामीले जनताका समस्यालाई समाधान गरिरहेका छौँ । यो छोटो समयमा उल्लेख्य कामहरु भएका छन् । अझै धेरै गर्न बाँकी छ । थाहा नगर फरक पहिचान बोकेको नगरपालिका हो । यहाँ कृषि र पर्यटनको प्रचुर संभावना छ । हामीले यी दुवै विषयलाई प्राथमिकतामा राखेका छौँ । जनताको अपेक्षा धेरै छ । त्यसलाई क्रमैसंग सम्बोधन गर्दै जानेछौँ ।

म त्यही भूगोलमा जन्मेहुर्केको कारण त्यहाँका जनताको अपेक्षा वा गुनासो के हो मलाई राम्रोसँग थाहा छ । सोही अनुसार नीति बनाएर काम गरिरहेका छौँ । अहिले जनताले विकासको मेरुदण्ड पनि भएकाले होला सडक बाटो विस्तार तथा स्तरोन्नतीको लागि धेरै चाहाना व्यक्त गर्दै आउनुभएको छ । हामीले समग्र जनताको आर्थिक अवस्था उकास्दै अन्य पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत क्षेत्रलाई महत्व दिएका छौँ ।

कृषि क्षेत्रमा बेमौसमी तरकारी उत्पादनमा जोड दिएका छौँ । किसानलाई उचित समयमा मल, बीउबीजन उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । गाउँपालिकाले कृषि उपकरणमा अनुदान दिँदै आएको छ । किसानको अपेक्षालाई सम्बोधन गर्ने कार्यमा हामी क्रियाशील छौँ ।

हाम्रो आन्तरिक स्रोत कम छ, संघ र प्रदेश सरकारसँग आशा गर्नुपर्ने अवस्था छ । त्यहाँ पनि समानुपातिक ढंगले वितरण प्रणाली लागू नभएको हो की भन्ने महसुस भएकै छ । कुनै कुनै मन्त्रालयमा पहुँचको आधारमा बजेट विनियोजन गर्ने, फ्रिज हुने समस्या यथावत छ । कुनै ठाउँमा हामी काम गर्न सक्छौँ, काम गर्छौँ भन्दा पनि बजेट नदिने समस्या भइरहेको छ ।

स्थानीय तहको जिम्मेवारी सम्हालेपछि विकास निर्माण आवश्यकताको आधारमा, जनताको चाहानाको आधारमा र स्थानीय भूगोल रहनसहनको आधारमा हुनुपर्छ भन्ने लागेको छ । सोही अनुसार जिम्मेवारी सम्हाल्दै आएका छौँ ।  तीनै तहको सरकारको अहिले संरचना मात्रै बनेको अवस्था छ । संविधान पनि भर्खरै बनेको र त्यसको विधान र कार्यविधि नयाँ बनेको कारणले केही समस्या भइरहेको छ ।

यो वर्ष भने बागमती प्रदेशले थाहा नगरलाई राम्रो सहयोग गरेको छ । ठूल्ठूला प्रोजेक्टहरु परेका छन् । कोल्ड स्टोर्स बनाउनको लागि ७० प्रतिशत उपलब्ध गराएको छ । मानव निर्मित इन्द्रसरोवर ताल जाने पूरानो सडकलाई स्तरिकरण गर्न संघ सरकारले ५० करोड बजेट उपलब्ध गराएको थियो पछि ३८ करोड मात्रै स्वीकृत भयो ।

डाँडाबास, मुरिया, माधिवेसीलगायत ग्रामिण सडकका लागि संघ र प्रदेशले बजेट विनियोजन गरेको छ । त्यस्तै बसपार्क पर्यटन पार्क, सूचना केन्द्रलगायत निर्माणका लागि पनि संघ र प्रदेश सरकारले सन्तोषजनक ढंगबाट बजेट विनियोजन गरेको पाइन्छ ।

पूर्वाधार निर्माणको क्रममा टेन्डरको प्रक्रियामा केही समस्या देखिएको छ । समय अवधिमा काम नगर्ने, ठेकेदारले ढिलासुस्ती गदिर्ने कारणले बजेट फ्रिज हुने संभावना रहने र अलि बढी झन्झटिलो प्रक्रिया हो की भन्ने लागेको छ । यसलाई सुधारेर लैजान जरुरी छ । पक्कै पनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि आउने बजेटहरुको कार्यान्वयनको पक्षमा जनसमूदायबाट गुनासो नै गर्नुपर्ने अवस्था छैन जस्तो मलाई लाग्छ । हिजो थुप्रै समस्या झेलेर हामी आएकै हौँ । साविकका गाविस हुँदा १५/१७ लाख बजेट आउँथ्यो भने अहिले एउटै वडामा करोडौँ बजेट विनियोजन भएको अवस्था छ । जनतालाई प्रवाह गर्ने सेवा सुविधा प्रभावकारी रुपमा अघि बढाउँदै आएका छौँ ।

यो अवधिमा नगरपालिकाले गरेका मुख्य कामहरु के–के हुन् ? हिजो चुनावका बेला जनतासँग गरेका प्रतिवद्धता के कति पूरा गर्न सफल हुनुभयो ?

हामी सबै विषयलाई सँगसँगै लैजाने प्रयासमा छौँ । सन्तुलित विकासको अवधारणा हामीले लिएका छौँ । कृषिमा आधुनिकिकरण, व्यावसायिकरण, यान्त्रिकिकरणमा जोड दिइरहेका छौँ । परम्परागत ढंगबाट भएको खेति प्रणालीलाई परिवर्तन गर्नुपर्ने जरुरी छ । अब वर्षातमा पानीले तरकारीलाई क्षति पुर्याउने भएकाले हामीले टनेल, ग्रिन हाउस बनाएका छौँ । गोरु जोत्ने प्रचलन हटाउँदै हाते ट्रयाक्टर, ठूला ट्रयाक्टर वितरण गरेका छौँ । थोपा सिचाईंको लागि पाइप, पानी तान्ने मोटर, वितरण गरेका छौँ । समूहगत रुपमा आउनेलाई पानी ट्याङ्की बनाउन अनुदान दिएका छौँ । त्यसमा ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत समूहगतले लगानी गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यको क्षेत्रमा हामीसँग भएका १२ वटै वडामा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको छ । ३/४ वटा स्वास्थ्य चौकीमा ल्याब टेस्ट गर्ने व्यवस्था मिलाएका छौँ । १५ शैयाको अस्पताल निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । यहाँ चिसो मौसममा बढी दमका विरामी हुने भएकाले काठमाडौँ र हेटौंडाबाट अक्सिजन लैजान समस्या हुने भएकाले अक्सिजन प्लान्ट बनाउँदै छौँ । सो प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । मेसिन जडान भइसक्या छ ।

हिजोको दिनमा भन्दा धेरै सुधारिएको अवस्था छ । तर, शिक्षा र रोजगारीको क्षेत्रमा भने सोचेजस्तो काम गर्न सकेका छैनौँ । प्लस टु र व्याचलर पढेका विद्यार्थीहरु पढ्दै कमाउँदै गर्न मिल्ने खालको अवसर खोज्न काठमाडौँ वा अन्य ठूला सहर जाने गरेको अवस्था छ ।
सामुदायिक र नीजि विद्यालयले समान शिक्षा दिनसक्ने वातावरण बनाउन सकेका छैनौँ । सामुदायिक र नीजि विद्यालयले दिने परिणाममा भिन्नता कायमै छ । हामीले सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन गुरु योजना बनाएर जाले लक्ष्य लिएका छौँ ।

युवालाई रोजगारी भएन भन्नुभयो, तपाईहरुले चाँही त्यसको लागि पहल गर्नुभएको छैन ?

हामीले पहल गरिरहेका छौँ । हजारौँ जनताको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । तर, व्यवस्थाले मात्रै मानिसको जीवनस्तर परिवर्तन हुन सकेन । अब जनताको जीवनस्तर बदल्नु ठूलो चुनौतीको रुपमा देखिएको छ । यो समग्र देशैभरीको चासो र चिन्ताको विषय हो । थाहा नगरपालिकाका जनताको पनि अवस्था बद्ल्न सकिएन भन्ने नै हो ।

यसका लागि प्रदेश र सरकार संघ सरकारबाट पनि प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर आएको थियो । तर, प्रभावकारी हुन सकेको छैन । थाहा नगरको हकमा हामीले कृषिमा व्यवसायिकरण गर्न सक्यौँ भने युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । अहिलेसम्म हामीले परम्परागत र टुक्रे काम गरिरहेका छौँ । चक्लाबन्दी परियोजना लागू गर्नसके थोरै श्रमशक्तिले धेरै काम गर्नसक्ने अवस्था बन्नेछ । आम्दानी पनि राम्रो हुन्छ । कृषि बाहेक अन्य विकल्प छैन । हामी कृषि र पर्यटनलाई नै युवाहरुको रोजगारीसँग जोड्दै लानेछौँ ।

ठूला उद्योग कलकारखाना स्थापना गर्न हामी सक्षम छैनौँ । यो अवस्थामा मेरो बुझाई भनेको कृषिलाई व्यावसायिकण र पर्यटनलाई ध्यान दिने हो । होटेल, होमस्टेलाई नगरपालिकाले विशेषगरी संरचना निर्माण गरेर युवा पुस्तालाई आफ्नो पेशा व्यवसाय गरेर बस्न सक्ने वातावरण बनाउँछौँ ।

नगरपालिकाको आन्तरिक आम्दानी बढाउन के कस्ता पहल भइरहेका छन् ?

हामीले भू–उपयोग नीति लागू गर्न सकेनौँ । नक्सा घरबाटोको सिफारिस र जग्गा किनबेचबाट आउने राजश्व घटेको अवस्था छ । नदिजन्य पदार्थ र प्राकृतिक स्रोत साधनबाट आउने राजश्व पनि संघीय सरकारबाट गृहमन्त्री रवि लामिछानेज्यू हुँदा क्रशर बन्द गर्ने निर्णय गरिदिनुभयो । यसले देशैभरीका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ ।

थाहा नगरमा आन्तरिक आम्दानी बढाउन पर्यटन प्रर्वद्धनसँगै प्राकृतिक स्रोत साधन उत्खनन्को मापदण्ड राज्यले तोकिदिएर बजारिकरणको लागि अनुमति दिनुपर्छ । कृषि क्षेत्रमा पनि टेन्डर लगाउँछौँ, जसबाट केही राजश्व संकलन हुने अवस्था छ । अन्य आम्दानीका स्रोत खासै छैनन् । घरजग्गा विक्रि वितरणको सन्दर्भमा केही राजश्व बढाउन सकिन्छ । तै पनि थाहा नगरपालिका आत्मनिर्मर त छौँ । तर, आन्तरिक स्रोतले मात्रै विकास गर्ने अवस्थामा हामी पुगेका छैनौँ ।

नीति कार्यक्रम अनुसार अपेक्षाकृत काम सम्पन्न भएको देखिँदैन नी ?

हामीले संघ सरकार र प्रदेशबाट आउने विशेष अनुदान र समपुरक बजेटभन्दा बाहेक थाहा नगरपालिकाले नै छुट्टाउने बजेटमा कम योजना राखेका छौँ । एउटा नगरस्तरीय बाटोलाई ४० लाखभन्दा कम बजेट छुट्टाउने सिलिङ बजेट वडालाई पठाउँछौँ । बाँकी ७ भन्दा बढी योजना हामीले समावेश गर्न पाउँदैनौँ भनेर कार्यविधि बनाएका छौँ ।

सबै वडाले ७ वटा भन्दा बढि यो खालको बाटोको निर्णय गर्न नपाउने भएपछि हामीसँग एक सयको हाराहारीमा बाटोको काम छ । त्यस कारण हामीले योजना सम्पन्न गर्न असार कुर्नपर्ने अवस्था छैन । केही निर्माण सम्पन्न भइनसकेका र केही भुक्तानी मात्रै हुन बाँकी देखिएकाले प्रतिशतका हिसाबले कम काम भएको जस्तो देखिएको हो ।

स्थानीय तहमा भएका प्राविधिकहरु हाम्रो आवश्यकता अनुसार विज्ञ नहुने भएकाले स्टमेटका लागि कन्सल्टेन्सी हायर गर्नुपर्ने अवस्था पनि छ । सप्तकन्या गुफाको हामीले स्ट्रक्चर बनाउने योजना हालेका थियौँ । हाम्रो थाहा नगरपालिकाका प्राविधिकले स्टमेट गर्न नसकेपछि हामीले भूगर्भविद् ल्याएर गर्दैछौँ । केही योजना त्यस्तो हुँदा ढिलो हुने रहेछ ।

हामी कार्यपालिका बैठक बसेर यदि गर्न नसक्ने योजना हो भने त्यसलाई संधोधन गर्ने वा अर्कै ठाउँमा बजेट हाल्ने तयारी गर्छौँ । बाँकी योजना हामी बैशाख सम्ममा सबै पूरा गर्छौँ ।

नगरपालिकालाई समृद्ध बनाउन आगामी दिनमा के कस्ता योजना अघि सार्नुभएको छ ?

थाहालाई समृद्ध नगरपालिका बनाउने हाम्रो लक्ष्य हो । जल, जंगल, जडिबुटी र पर्यटन नै समृद्ध थाहा नगरको आधार हो । हामी उत्पादन बढाउने, आयात सकेसम्म घटाउँदै जाने, नगरवासीको जीवनस्तर उकास्ने र आत्मनिर्भर नगरपालिकाको रुपमा स्थापित गराउने यात्रामा छौँ ।

केन्द्र सरकारले आफ्नो लक्ष्य पूरा गर्न गराउन कस्तो नीति लिन्छ ? कस्तो निकास र विकास दिन्छ ? त्यसमा पनि भरपर्छ । तर, हाम्रो गाउँपालिकाको भूबनोट, हावापानी, उपलब्ध प्राकृतिक स्रोत र साधनलाई आधार मानेर हामीले मूलतः सडक सुविधाको विकास, कृषि क्षेत्रको विकास, पशुपंक्षी पालन, जडिबुटी र वन, पर्यटन क्षेत्रको विकास, जल उपयोग, शिक्षा, स्वास्थ्य र सुशासन, यी ९ वटा क्षेत्रको समुचित विकास गर्ने हाम्रो लक्ष्य छ ।

यसका लागि हामीले केही खासखास क्षेत्रको छनौट गरी क्रमश गुरुयोजना तयार गरेर अगाडि बढ्ने योजना बनाएका छौँ । निश्चय नै यी लक्ष्यहरू प्राप्ति गर्दै गर्दा यो कार्यकालमा कम्तीमा पनि एउटा आधार मात्र खडा भए पनि यसको सुरुवात मात्र भए पनि आगामी १० वर्षभित्र थाहा नगर एउटा समृद्ध स्थानीय तह बन्नेछ ।

स्थानीय पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले के गरिरहेको छ ?

यहाँका धार्मिक एवम् ऐतिहासिक महत्वका स्थानको संरक्षण, त्यसको प्रवद्र्धन र प्रचारप्रसारमा हामी सक्रिय छौँ । आन्तरिक तथा बाह्य पर्यटकहरुले ढुक्कसँग घुमफिर गर्न सक्ने वातावरण बनाएका छौँ । उहाँहरुको आतिथ्यताका थाहा नगरवासी तयारी अवस्थामा हुनुहुन्छ ।

पर्यटकहरुलाई बसोबासको लागि होटल तथा होमस्टेहरु पर्याप्त छन् । पर्यटकसँग सेवा दिएबापत् लिने शुल्कबारे हामीले समय–समयमा अनुगमन गरिरहेका छौँ । अझै प्रवद्र्धनका धेरै कार्यक्रम हामीले अघि सारेका छौँ । ५ वर्षपछि यहाँहरुले देखिहाल्नुहुन्छ ।

अन्त्यमा केही भन्न मन लागेको छ की ?

समग्रमा थाहा नगरपालिका सचेत नागरिक भएको र कम्यूनिष्ट आन्दोलनको जग बसेको ठाउँ हो । स्वर्गीय रुपचन्द्र विष्टको आदर्शबाट सुसूचित भएको स्थान हो । थाहा अरु पालिकाभन्दा पृथक कसरी छ भने, आफ्नो समृद्धि र विकासको लागि आफैँले योगदान गर्नुपर्छ भन्ने चेतना यहाँका मानिसहरुमा छ ।

सुशासन स्थापनामा जनताको पनि योगदान छ । विकासमा हाम्रो पनि सहयोग हुनुपर्छ भन्ने सबैको भावना भएकाले जनताको सहयोगप्रति हामी खुसी छौँ । म सम्पूर्ण थाहा नगरवासीलाई विशेष धन्यवाद दिन चाहान्छु । तपाईहरुको विश्वास डगमगाउन दिने छैन । ओझेलमा परेका हाम्रा कुराहरु उजागर गरिदिनुभएकोमा तु खबरलाई पनि धन्यवाद दिन चाहान्छु ।