हेटौंडामा सडक विस्तार गर्ने विषयमा सर्वपक्षीय छलफल

तु खबर संवाददाता
२०८० असार २२,शुक्रबार १८:१३

मकवानपुर । सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक विस्तार गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
गत असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिनको सूचना जारी गरेपछि पेचिलो बनेको सडक विस्तारको विषयमाथि शुक्रबार सरोकारवालाबीच छलफल भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको अध्यक्षतामा भएको सर्वपक्षीय छलफल कार्यक्रममा सबैले आ–आफ्नो धारणा राखेका थिए ।

प्रजिअ प्रसाईले २५ गजको विषयको बारेमा राखेको सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुँइटेल, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, सडक डिभिजन हेटौंडाका प्रमुख राजेश कुमार यादव, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता, केन्द्रीय सदस्य कृष्ण कटुवाललगायत सडक सीमाका घरधनीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बैठकको प्रारम्भका डिभिजन सडक कार्यालय हेटौँडाका डिभिजन प्रमुख यादवले असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौँडाका घरधनीको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गज मात्र बनाएको बताएका थिए । उनले साउन १६ सम्म सूचनालाई वेवास्ता गरी घर टहरा नहटाए कानुनी तबरबाट अतिक्रमित घर टहरा हटाउने बताए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर लामाले यो पटक हेटौँडा सडक बिस्तार भएरै छाडने दाबी गरिन् । यो विषयलाई थप गिजोलेर समस्या नथप्न उनले अनुरोध गरिन् । त्यस्तै उपमेयर बानियाँले सडक विस्तारको विषयलाई गिजोलेर अनावश्यक राजनीति गर्न नहुने बताए । उनले सडक विस्तारको लागि आवश्यक समन्वय गर्न समेत उपमहानगर तयार रहेको बताए ।

त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले चालु आवस्थामा राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन नहुने बताए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेकपा एकीकृत समाजवादी मकवानपुरका धु्रव भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीका विरालराज महतलगायतले आ–आफ्नो धारणा प्रस्तुत गरे ।