आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द हुने
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सोमबारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने जनाएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन् ।
राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानूनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको रहेको छ । तर, नियमावलीले संघ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ ।