मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै टानबिन समिति गठन गरेको हो ।
बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर क्याप्टेन चेतबहादुर गुरुङ र अन्य ५ जना मेक्सीकोका नागरिकको मृत्यु भएको हो । उनीहरुको शव मंगलबार नै काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ ।