कुवेत जान लागेका ११० जनालाई अध्यागमनले फर्कायो

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले बुधबार बेलुका फर्काएको छ ।
कार्यालयले वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै फिर्ता पठाएको हो ।
उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ ।
सलाम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूर्ण प्रक्रिया पूरा गरेर जान लागेकाहरूलाई रोकेको जानकारी दिए । टिकट, भिसा, श्रम स्वीकृति सबै कागजात पेस गर्दा पनि उनीहरूलाई फर्काइएको उनले बताए । अध्यागमन कार्यालयले पछिल्लो समय निकै ज्यादतीपूर्ण कार्य गर्दै आएको उनको भनाइ छ ।