राष्ट्रिय सभाबाट बजेट पारित

तु खबर संवाददाता
२०८० असार २८,बिहीबार १७:३९
file-photo

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको हो ।

राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियास्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गते (सोमबार) देखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।