माद्यमिक तहमा अध्ययन गर्न विदेशिने विद्यार्थी रोक्दै सरकार

तु खबर संवाददाता
२०८० श्रावण ३,बुधबार १९:०१

काठमाडौँ । सरकारले माध्यमिक तहमा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीहरुलाई रोक लगाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ को कारण देखाउँदै विद्यार्थीहरुलाई रोक लगाइएको हो ।

निर्देशिकाको परिच्छेद ७ को २६ नम्बर बुँदामा विद्यालय तहको शिक्षाका लागि विदेशी विद्यालयमा अध्ययन गर्न स्वीकृति नदिने उल्लेख छ । यहि बुँदाको आधारमा मन्त्रालयको एनओसी जारी गर्ने शाखाले एनओसी दिन रोक लगाउँदै आएको छ ।

सरकारको यो कदमले नागरिकको शिक्षा प्राप्त गर्ने अधिकारमाथि अंकुश लगाउने काम भएको भन्दै टिप्पणी भइरहेको छ । कुनै पनि व्यक्तिलाई आफ्नो सन्तानलाई आफूले चाहेको विषय पढाउन पाउने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएको भन्दै सामाजिक सञ्जालहरुमा सरकारको कदमविरुद्ध टिप्पणी भएको हो ।

शिक्षा मन्त्रालयले विद्यालय तहको शिक्षाका लागि विदेश गएर पढ्न खोज्ने बालबालिकाहरूको हकमा एनओसी जारी गर्न रोक लगाइरहेको छ ।