मकवानपुरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईंले हेटौंडा उपमहानगरपालिका वडा नं. ५ निवासी गिरिजा अधिकारीलाई आज बिहिबार राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी सो कार्यको सुरुवात गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ३७ हजार ८ सय ९१ थान राष्ट्रिय परिचयपत्र तयार भई आएको छ । आएका मध्ये हरेक दिन ५० देखि १०० थान परिचयपत्र वितरण गर्ने तयारी गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।
कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने छ । म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने कार्यालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेपछि प्रजिअ सेढाईंले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताए । अहिले राहदानी बनाउन, बैंक खाता खोल्न यसको आवश्यकता पर्ने र भोलिका दिनमा यसैगरी सबै काममा यो परिचयपत्र अनिवार्य हुने उनको भनाई छ । विवरणहरु क्रमशः यसैमा समावेश गर्दै लैजाने र पछि सबै सेवा प्राप्त गर्न अनिवार्य हुने अवस्था बन्ने भन्दै उनले सबैलाई राष्ट्रिय परिचयपत्र लिन आह्वान समेत गरेका छन् ।