कोरियाबाट फर्किएर पुनः जान चाहनेलाई लक्षित गरी भाषा परीक्षा हुने
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा संचालन भएको छ । सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) संचालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ ।
शाखाका अनुसार, ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी) बाट यस्तो परीक्षा संचालन हुँदैछ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ ।
एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन् । आवेदन दिनको लागि उमेर १८ वर्ष पुरा भएको र ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
फौजदारी अभियोग नलागेको, कोरियामा गैरकानूनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको र कोरियामा इ–९ र इ–९–१ भिसामा ५ वर्ष भन्दा बढी अवधि नबसेको हुनुपर्ने समेत ईपीएस कोरियाले जनाएको छ ।
फारम वितरण तथा दर्ता मिति १३ साउनदेखि १५ साउनसम्म तोकिएको छ । परीक्षाका लागि आवेदन अनलाइन दिन सकिनेछ । त्यसपछि एडमिट कार्ड डाउन्लोड र प्रिन्ट गरी सुरक्षित राख्नु पर्नेछ ।
परीक्षा तालिका घोषणा आगामी भदौ ८ मा हुने भएको छ । परीक्षा भने भदौ १८ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । नतिजा ३ असोजका दिन प्रकाशित हुने भएको छ ।