अवैध सुन प्रकरणमा थप ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ८,सोमबार ०८:०४

काठमाडौं । अवैध रूपमा भित्रिएको करिब १०० किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।

पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा छन् ।

आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ । नेपालमा एकै पटक यति धेरै परिमाणमा सुन बरामद भएको यो पहिलो घटना हो ।