भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी सुरु
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बिहीबारसम्म संचालन हुने दुई दिने समिक्षा गोष्ठी बुधबारबाट सुरु भएको हो ।
गोष्ठिको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा उनले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना भित्र टेण्डर गरिसक्न निर्देशन दिँदै अन्तिम समय (बैशाख र जेष्ठ) मा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गरी अब टेण्डरको काम सुरु गर्नुपर्ने बताए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो मार्ग अन्तरगत पर्ने भैंसे–भीमफेदी सडकखण्डको काम ढिलो गतिमा भइरहेकाले छिटो सक्नेगरी काम गर्न आग्रह गरे ।
यस्तै, कार्यक्रमका सभाध्यक्षता एवम् भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कुनैपनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह गरे । चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षसम्ममा हेटौंडाको बुद्धचोकदेखि काठमाडौंसम्मको सडक निर्माण भएर कालोपत्रे हुने उनले दाबी गरे ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण प्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।