मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी

पत्रपत्रिका
२०८० श्रावण १२,शुक्रबार ०८:१९

हेटौंडा । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।

थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।

प्रस्तावित आयोजना कार्यान्वयनले आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रूपमा पार्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन गरी प्रतिवेदन तयार गरिएको हो। अध्ययन प्रतिवेदनले आयोजनाका सम्भावित प्रतिकूल प्रभाव न्यूनीकरण र व्यवस्थापनका उपायहरू सुझाएको छ।

विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले इआइए अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिनुभयो। चार हजार विद्यार्थीले अध्ययन गर्ने गरी प्रस्ताव गरिएको यो विश्वविद्यालयका लागि सुरुको १० वर्षसम्म वन फँडानी नगर्ने गरी योजना बनाइएको छ। आयोजना स्थलमा रहेको अर्गानिक फार्ममा रहेका केही नास्पातीका बोट भने काटिने भएको छ। विश्वविद्यालयले २५५ वटा रुख र तीन हजार नीलकाँडा रोपेको प्रतिवेदनमा उल्लेख छ।

कुनै पनि आयोजना निर्माण गर्दा पाँच हेक्टरभन्दा बढी वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्दा इआइए गर्नुपर्ने व्यवस्था अनुसार नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिले इआइए गरी गत जेठ अन्तिम साता प्रतिवेदन तयार गरेको थियो।

वन क्षेत्रभित्र २५ कोठाभन्दा बढीको शैक्षिक संस्था निर्माण गर्दा र १० हजार वर्गमिटर क्षेत्रफलमा संरचना गर्दा इआइए गर्नुपर्ने व्यवस्था रहेकोमा प्रस्तावित आयोजनामा दुई सयभन्दा बढी कोठा प्रस्ताव गरिएको र आयोजनाको संरचना निर्माण क्षेत्रफल दुई लाख २३ हजार वर्गमिटर रहेको छ ।

स्वच्छन्द भैरव माविको नाममा रहेको १७९–१२–२–० रोपनी जग्गा २०७४ असोज २७ को मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान पूर्वाधार विकास समितिको नाममा भोगाधिकार दिएकोमा उक्त समिति खारेजीमा गएपछि विश्वविद्यालयलाई भोगाधिकार दिने २०७६ असार ५ मा मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो ।

सरकारले आर्थिक वर्ष २०७६–७७ मा एक अर्ब ७६ करोड रुपियाँ बजेट विनियोजन गरी विश्वविद्यालय आयोजना कार्यान्वयनमा ल्याउन सुरु गरेको थियो । सो विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल ललितपुरमा रहेकोमा आगामी भदौ १ देखि चित्लाङबाट कार्यालय सञ्चालन गर्ने तयारी गरिरहेको कन्सल्टेन्ट खनालले बताए । चित्लाङमा विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ देखि सुरु गरिएको हो ।

ज्ञान, प्रविधि, सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधिको विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्रको विकासमा प्रत्यक्ष सहयोग पुर्याउन भन्दै सरकारले २०१९ अप्रिल २३ मा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो ।

पच्चिस शय्याको अस्पताल
प्रस्तावित आयोजनामा शैक्षिक भवन, कम्युनल भवन, ६०७ कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, २५ शय्याको अस्पताल, विद्यालय र सडक निर्माण हुनेछ । प्रतिवेदन अनुसार आयोजना क्षेत्रमा, खानेपानी आपूर्ति तथा ढल निकास, बिजुली आपूर्ति, विद्युत् र सञ्चार सञ्जाल रहने छन् ।

आयोजना निर्माणपछि स्थानीयस्तरमा अधिक रूपमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। प्रस्तावित आयोजना पूरा भएपछि दक्षता, सिप र क्षमता अनुसार रोजगारी सिर्जना, पहुँच सडक, विद्यमान सडकको स्तरोन्नतिरसुधार हुने विश्वास गरिएको छ। यस्तै स्थानीय आर्थिक गतिविधिमा वृद्धि र स्थानीय सरकारलाई राजस्व सङ्कलनको अवसर मिल्ने छ ।

विश्वविद्यालयमा आवश्यक पर्ने पानीका लागि आकासे पानी सङ्कलन र जमिनमुनिको पानीमा निर्भर हुने, विश्वविद्यालयबाट निस्कने मलमूत्रबाट बायोग्यास निकाल्ने, फोहोर पानी प्रशोधन गर्ने तथा पाँच सय किलोवाटको सौर्य ऊर्जा र छ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट स्थापना गरिने भएको छ । यो आयोजनाको कुल वातावरणीय व्यवस्थापन लागत एक करोड २४ लाख ६५ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तावित आयोजनालाई आवश्यक ५०.५२ हेक्टर जमिनमा हाल घाँसे मैदान, नास्पाती खेती तथा वन रहेकोमा आयोजनाको निर्माणसँगसँगै उक्त जमिन भवनमा परिणत हुनेछ। इआइए प्रतिवेदनका लागि आएका सुझावहरूसहित प्रतिवेदनलाई थपघट गरी अन्तिम रूप दिने खनालले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।