क्षतिपूर्ति माग गर्दै हेटौंडामा किसानहरुले दिए धर्ना

तु खबर संवाददाता
२०८० श्रावण १२,शुक्रबार १७:२०

मकवानपुर । मकवानपुरका किसानहरुले शुक्रबार विभिन्न माग राख्दै धर्ना दिएका छन् । नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ तथा किसान सञ्जालको आयोजनामा हेटौंडाको बुद्धचोकमा किसानहरुले धर्ना दिएका हुन् ।

विरोध प्रदर्शमा किसानहरुले लम्पी स्किन रोगलाई महामारी रोग घोषणा गरी रोगका कारण मरेका पशुहरुको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

किसानका मागहरु पटक–पटक सरकार समक्ष राख्दा पनि सुनुवाइ नभएपछी सवारी आवगमन समेत बन्द गरेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालले जानकारी दिए ।

महासंघको सातै प्रदेशमा भएको विरोध तथा धर्ना कार्यक्रम अन्तरगत मकवानपुरको हेटौंडाको बुद्धचोकमा भएको थियो ।