नारायणी कलेजद्वारा युवा वैज्ञानिक पुरस्कार प्राप्त विद्यार्थीहरुलाई सम्मान

तु खबर संवाददाता
२०८० श्रावण १६,मंगलवार ०८:३२

मकवानपुर । नारायणी कलेज तथा तुलसिमेहर मेमोरियल माध्यमिक विद्यालयले काठमाडौंमा भएको साइन्स समिटमा युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

कलेजले कक्षा ११ को शैक्षिक सत्रको सुरुवाती अभिमुखीकरण कार्यक्रम अन्तरगत सोमबार एक कार्यक्रबीच विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।

कलेजले हरेक वर्ष झै यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्न आएका २०० भन्दाबढी विद्यार्थीहरुलाई पाठ्यक्रम, कलेज नियम, कलेजको शैक्षिक उपलब्धि, शैक्षिक कृयाकलाप आदिको विषयमा अभिमुखीकरण दिएको हो ।

कलेजका सामाजिक विभाग प्रमुख सन्दिप न्यौपानेले संचालन गरेको उक्त कार्यक्रम नारायणी कलेजका प्राचार्य रघुनाथ खरालको अध्यक्ष्यतामा भएको हो । सो क्रममा युवा वैज्ञानिक पुरस्कारद्वारा सम्मानित हुने कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका दुई विद्यार्थी अमुल न्यौपाने र प्रशान्त चिमोरियालाई नगद, प्रमाणपत्रसहित अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरु क्रमशः सन्देश तामाङ र रोमी शाहलाई रिभर्स भेन्डिङ मेसिन निर्माण गरे बापत पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी, सामाजिक सञ्जाल टिकटक मार्फत कलेजलाई प्रमोशन गर्न सघाउँ पुर्याए बापत कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी छात्राहरु क्रमशः प्राप्ति गौतम, क्रितिशा भोम्जन, अनुपा दोङ, अमृता घिमीरेलाई पनि नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा एस एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक दिपक काफ्ले, नारायणी कलेज अन्तरगत अध्यापन गरिने व्यवस्थापन, विज्ञान संकाय अन्तरगतका सम्पूर्ण संयोजक तथा अध्यापकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कलेजको तर्फबाट अभिमुखीकरण बनस्पती विज्ञानकी अध्यापक प्रतिभा बुढाथोकी र कमल नेपालले गरेकी थिए भने सम्बन्धित संकायका संयोजकहरु क्रमश लक्ष्मण पाण्डे, होटल म्यानेजमेन्ट विषय प्रमुख जयराम कार्कीले विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।