हेटौंडा १५ नम्वर वडाले कृषि अनुदान दिने

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १८:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ ले चालु आर्थिक वर्षदेखि वडाका किसानहरुलाई कृषि अनुदान दिने भएको छ ।

उपमहानगरपालिकाले वडाका लागि छुट्याएको बजेटबाट किसानको मागलाई मध्येनजर गर्दै दूग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दूग्घमा २ रुपैयाँ र पशु खरिदमा वडाबाट पशु बीमा कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।

अध्यक्ष मुक्तानका अनुसार अब गाईँ भैँसीमा गरिँदै आएको १ प्रतिशत पशु बीमा बापत्को रकम र दूग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदानको व्यवस्था गरिएको छ ।

उनका अनुसार गोरस दूग्ध उत्पादन कृषि सहकारी संस्थामार्फत् वडाका किसानलाई अनुदान बापत्को रकम अबदेखि वितरण गरिने छ ।

‘गाउँघरमा सिंहदरबार छ भन्ने तर किसानको समस्या कसैले नबुझेको भन्दै समुदायबाट गुनासो आएपछि हामीले किसानको मागको आधारमा थोरै भएपनि किसानमुखी बजेटको व्यवस्था गरेका हौँ ।’ उनले भने ।

विदेशिएका युवाहरुलाई पनि स्वदेशमा व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले थोरै भएपनि कृषिका लागि अनुदान कार्यक्रम सुरु गरिएको उनको भनाई छ । उनले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।