विपद्को घटनामा परेर ४१ जनाको ज्यान गयो
काठमाडौं । गत जेष्ठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्को घटनामा परेर ४१ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार देशभरका विभिन्न ५० जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाको ज्यान गएको हो ।
यस्तै, विपदमा परेर ती जिल्लाहरुमा ३१ जना बेपत्ता रहेका छन् भने ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ ।
यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका रहेका छन् । जसमा सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका रहेका छन् ।विपदमा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ ।
मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।