मकवानपुरबाट साढे २१ हजारले लिए राहदानी

तु खबर संवाददाता
२०८० श्रावण २७,शनिबार १७:१५

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे २१ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् ।

प्रशासनबाट गत आर्थिक वर्ष २०७९–०८० मा २१ हजार ६ सयले राहदानी प्राप्त गरेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार, एक हजार ६ सय ५१ जनालाई राहदानी वितरण गर्न बाकीँ रहेको र कार्यालयबाट राहदानीका लागि साधारण सिफारिस लिनेको संख्या २३ हजार तीन सय ८३ रहेको छ ।

कार्यालयमा विभिन्न विषयका १ सय ५४ वटा मुद्दा दर्ता भएको छ । तीमध्ये १ सय ५८ वटा फछ्र्योट भएको र २५ वटा फैसला हुन बाकीँ रहेको शर्माले बताए ।

जिल्लामा वंशजको आधारमा नयाँ नागरिकता १५ हजार ३२ जनामध्ये पुरुष ७ हजार ६४ र ७ हजार ९ सय ६८ जना महिलाले प्राप्त गरेका छन् ।

त्यस्तै १२ हजार ७ सय ३० जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासन स्रोतले जनाएको छ ।

यसैगरी, कार्यालयबाट २९ हजार तीन सय ८ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ ।