उपप्रधानमन्त्री र कोरियाली राजदूतबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० भाद्र १२,मंगलवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

सो क्रमममा राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे ।

राजदूत पार्कले नेपालमा आफूले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।

दुई देशबीच सांस्कृतिक लगायत धेरै समानता रहेको आगामी वर्ष दुई देशको कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उनले स्मरण गरे ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले दक्षिण कोरियाले ‘इपिएस’ कार्यक्रममार्फत धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह ।

त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताए । ‘इपिएस’ र ‘कोइका’मार्फत उद्यमशिलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए ।

राजदूत पार्कले नेपाल भ्रमणमा आउने दक्षिण कोरियाली पर्यटक र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्दो रहेको समेत उल्लेख गरे ।