दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन

तु खबर संवाददाता
२०८० भाद्र १२,मंगलवार १८:४४
file-photo

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेको हो ।

पूर्व स्वीकृतिविना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेशनल (ईजाजतपत्र नम्बर (१३५२–०७४–०७५) र आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न ओक्सन इन्टरनेशनल (इजाजतपत्र नं. ९८९–०६७–०६८० लाई विभागको मिति २०८०–०५–१२ को निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम उल्लिखित दुबै संस्थालाई निलम्बन गरिएको छ’ सूचना अधिकारी कविराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।