आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको मौसममा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।