प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

तु खबर संवाददाता
२०८० भाद्र ३१,आईतवार १९:०५

न्यूयोर्क । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिका आइपुगेको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री  प्रचण्ड भ्रमण दलको नेतृत्व गरेर अमेरिका आइपुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ ।

प्रधानमन्त्री दाहाल आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने छन् । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।