पठनपाठन बन्द भएकोप्रति हेटौंडा उपमहानगरको ध्यानाकर्षण

तु खबर संवाददाता
२०८० आश्विन ५,शुक्रबार १५:५७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा संघीय संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति जनाउँदै शिक्षकहरुद्वारा घोषित आन्दोलनको कारण सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएकोप्रति आपत्ती जनाएको हो ।

जारी विज्ञप्तिमा शिक्षकहरुले आफ्नो हकहित र वृद्धि विकास लगायतका सवालमा राखेको कतिपय मागहरु सम्मानजन रहेको भन्दै उपमहनगरपालिकाले त्यस्ता जायज मागहरु पूरा गर्न समेत संघीय सरकार समक्ष अनुरोध गरिएको छ ।

यद्यपी विद्यालयहरुको नियमित पठनपाठन तथा सिकाईका क्रियाकलापहरु समेत अवरुद्ध हुनेगरी आन्दोलनको कार्यक्रमहरु अगाडि बढाइरहँदा विद्यार्थीहरुको निर्वाध शिक्षा हासिल गर्न पाउने मौलिक हक अधिकारको हनन् हुन पुगेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।

साथै उपमहानगरपालिकाले विद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरुमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरु पूर्ववत रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षमा आग्रह समेत गरेको छ ।