खाल्डोमा परेर एक बालकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/04/Dubnu-Pani-Khola_Tukhabar-e1655088435931.jpg)
जनकपुरधाम । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए ।
सोही क्रममा चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।
स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।