राहत र पेन्सन बन्चित शिक्षकको आन्दोलन आज पनि जारी रहने

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार ०९:०१
file-photo

काठमाडौं । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकको आन्दोलन आज पनि जारी रहने भएको छ । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने जानकारी गराएको हो ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो ।

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले बिहान १०ः३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको छ ।

त्यस्तै, पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ ।