मातृभूमि साहित्य समाज मकवानपुरद्वारा दुई जना सम्मानित

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार ०९:५२

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले दुई जनालाई सम्मान गरेको छ ।

मातृभूमि साहित्य समाजले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी दुई जनालाई सम्मान गरेको छ ।

संस्थाले वरिष्ठ संस्कृतिविद् एवम् प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट सम्मान गरेको छ । गुरुङलाई नगद २५ हजार एक रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो ।

संस्थाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राज्ञ गुरुङलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव पोखरेलले जनाकारी दिए ।

यस्तै, संस्थाले ‘लघुकथालय’ का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई ‘मातृभूमि लघुकथा रत्न सम्मान–२०७९’ बाट सम्मान गरेको छ । लामो समयदेखि लघुकथाको क्षेत्रमा कलम चलाउँदै आएका डा.चालिसेलाई नगद ११ हजार १११ रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।

चालिसेको नेपाली भाषामा विभिन्न लघुकथा संग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् ।

सोही कार्यक्रमको अवसर पारेर मकवानपुरकी महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’ को विमोचन समेत गरिएको थियो ।

कार्यक्रम मतृभूमि साहित्य समाजका अध्यक्ष पोखरेको अध्यक्षतामा एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।