दुई महिनामा ६७ अर्ब भन्सार राजश्व संकलन

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १५:४१
file-photo

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो दुई महिनाको अवधिमा राज्य कोषमा ६७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।

सो अवधिमा विदेशबाट आयातित वस्तुमा लाग्ने करबाट ६७ अर्ब ४७ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको हो ।

अर्थ मन्त्रालयले साउन र भदौ महिनामा ८९ अर्ब १० करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य तय गरेको थियो । तर, सो अवधिमा ६७ अर्ब ४७ करोड मात्रै राजश्व संकलन भएको हो ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार, भदौ महिनामा ४९ अर्ब ३९ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य सरकारले लिएको थियो । जसमध्ये ३५ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ । यो लक्ष्यको ७१ प्रतिशत हो ।

उनले लक्ष्य प्राप्ति नभए पनि गत वर्षको तुलनामा भन्सार राजश्व सङ्कलनको स्थिति सुधारात्मक रहेको बताए । गत आर्थिक वर्षको दुई महिनाको अवधिमा ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको थियो । उक्त अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको थियो ।