माधव नेपाल भोलि हेटौंडा आउने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल भोलि हेटौंडा आउने भएका छन् ।
अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् ।
नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।
सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विष्णुपप्रसाद दाहालले गत असोज १४ गतेबाट सुरु भएको १५ दिने मेची–महाकाली अभियानको टोली भोलि हेटौंडामा आइपुग्ने र त्यसलाई पार्टीका अध्यक्ष नेपालले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
कार्यक्रमलाई अध्यक्ष नेपालसँगै पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने उनले बताए ।
उनका अनुसार, शुक्रबार बिहान साढे १० बजे हेटौंडाको सिमाचोकमा जनसभाको आयोजना गरिएको छ ।