एष्ट्रोनोभाद्वारा निशुल्क रोबटिक्स र अटोमेशन कार्यशाला
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपालले मकवानपुरका दुई विद्यालयमा एकैपटक निशुल्क रोबटिक्स र अटोमेशन सम्बन्धि कार्यशाला गरिरहेको छ ।
विभिन्न विद्यालयका बालबालिकाहरुलाई सहभागी गराई कार्यशाला आयोजना गर्दै आएको फाउण्डेशनले आइतबारबाट हेटौंडाको नवोदय शिशु सदन इङ्लिस बोर्डिङ् स्कुल र बालजागृती इङ्लिस बोर्डिङ स्कुलमा ६ दिने कार्यशाला गरिरहेको छ ।
विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षासहित कार्यशाला आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । उनले सानै उमेरदेखि विद्यार्थीहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न कार्यशाला प्रभावकारी हुने बताए ।
कार्यशाला आयोजना गरिदिएकोमा बालजागृती र नावेदय स्कुले आयोजकलाई धन्यवाद दिएको छ । दुवै विद्यालयमा कार्यशाला उद्घाटन समारोहमा सहभागी अतिथिहरुले सूचना प्रविधिको युगमा विद्यार्थीहरु समयसंगै नवप्रवर्तनात्मक, उद्यमशीलता, वैज्ञानिक सोचतर्फ अघि बढेर समाजमा योगदान पुरयाउन सक्ने भन्दै कार्यशालाको प्रशंसा गरेका थिए । प्रत्येक विद्यालयमा आयोजित कार्यशालामा छनौट भएका २१/२१ जना विद्यार्थी सहभागी छन् ।
फाउण्डेशनले यसअघि हेटौंडालगायत मकवानपुरगढी गाउँपालिकाका विभिन्न २७ विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीहरु मध्येबाट छनौट गरी ४५ जना विद्यार्थीहरुलाई अभिमुखिकरण कक्षामा राखेर ११ देखि २१ उमेर समूहका २१ जना विद्यार्थीहरुलाई १३ दिने प्रशिक्षार्थी प्रशिक्षक कार्यशालामा सहभागी गराएको थियो ।
आफूले सिक्ने र सिकेको ज्ञानलाई आफ्नो विद्यालयमा सोही अनुसारको कार्यशाला गराउनुपर्ने शर्तमा विद्यार्थीहरुले प्रशिक्षार्थी प्रशिक्षक कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
अहिले तीनै २१ जना विद्यार्थीहरुले आफुले सिकेको कुरा आ–आफ्नो विद्यालयमा २१/२१ जना बालबालिकाहरुलाई सिकाइरहेको फाउण्डेशनका अध्यक्ष बास्तोलाले बताए ।
‘प्रशिक्षार्थी प्रशिक्षक कार्यशालाबाट छनौट भएका बालबालिकाहरुले अहिले आयोजना भइरहेको कार्यशालामा प्रशिक्षण गरिरहेका छन् । जिल्लाको ५ वटा विद्यालयमा निशुल्क कार्यशाला सम्पन्न गरिसकेका छौँ । दुई वटामा अहिले जारी नै छ । सुरुवाती चरणमा २१ वटा विद्यालयमा कार्यशाला गर्ने हाम्रो लक्ष्य छ । फाउण्डेशनले अन्य गतिविधि पनि सञ्चालन गरिरहेको छ ।’ उनले भने ।
फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ ।
फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो ।
त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकिएको फाउण्डेशनले जनाएको छ ।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ ।