मानव अधिकार तथा शान्ति समाजद्वारा संसद भवन अगाडि प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।
संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने मागसहित समाजका अधिकारीहरुले संसद भवन ३ नम्बर गेट अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा अधिकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नारा लगाएका थिए ।
सो क्रममा प्रहरीले २७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समाजले जनाएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखिएको छ ।