मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७४४ पुग्यो

तु खबर संवाददाता
२०८० कार्तिक २२,बुधबार १६:४६

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७४४ पुगेको छ ।

जिल्लामो पछिल्लो २४ घण्टामा थप ५ जनामा डेंगु संक्रमित फेला परेसँगै कुल संख्या ७४४ पुगेको हो । जसमा ३८२ पुरुष र ३६२ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ५११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६७ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।