चाडपर्व नजिकिएसँगै हेटौंडा बजार क्षेत्रमा लगातार अनुगमन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीब्रता दिइएको छ ।
चाडपर्व नजिकिएसँगै संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित पसलहरुमा लगातार तीन दिनदेखि अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले बुधबार उपभोक्ता हित तथा कानुन विपरीत काम गर्ने बजार क्षेत्रमा रहेको दुई वटा पसललाई कारबाही गरेको छ ।
ती दुबै पसलहरुलाई ६०/६० हजार रुपैयाँ जरिवानासहित कारबाहीको दायरामा ल्याएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दिए ।
यस्तै, सोही अनुगमन टोलीले अनुगमनका क्रममा २ वटा पसलबाट ९५ हजार ४०५ रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान पनि नष्ट गरेको थियो ।
अनुगमन टोलीमा आन्तरिक राजस्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरु रहेका थिए ।