आज तिहारको चौथो दिनः गोवर्द्धन पर्वत, बलि, हली र गोरुको पूजा गरिंदै
मकवानपुर । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक विश्वास छ ।
गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्तज्ञ्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौं बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।