पत्रकार पन्थीको पुस्तक अमेरिकाको विश्वविद्यालयको पाठ्यक्रममा
न्यूयोर्क । पत्रकार किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेवल एकोर्ड युनिभर्सिटीको मास्टर्स डिग्रीको पाठ्यक्रममा समावेश भएको छ । युनिभर्सिटीले पन्थीद्वारा लिखित सो पुस्तक पाठ्यक्रममा समावेश गरेको हो ।
पन्थी अमेरिका र नेपालबाट सञ्चालनमा रहेको खसोखास डटकमका प्रधानसम्पादक हुन् ।
पाठ्यक्रममा समावेश भएको सो पुस्तकका सामग्रीका कारण विद्यार्थीहरुलाई वास्तविक जीवनको परिदृश्यमा उनीहरुको आलोचनात्मक सोच क्षमताहरुको विश्लेषण कसरी गर्ने भन्ने बारे मद्दत गर्ने अपेक्षा विश्वविद्यालयको छ ।
संयुक्त राज्य अमेरिकामा बसेर पत्रकारिता तथा समसामयिक विषयमा पुस्तक लेखनमा संलग्न पन्थी खासगरी अध्यागमन पत्रकारितामा दख्खल राख्छन् । पन्थीले लेखेको सो पुस्तक नेपालको भुकम्प र त्यसका भावनात्मक पक्षसँग सम्बन्धित छ । पन्थी अमेरिकी अध्यागमनसंग सम्बन्धित चर्चित पुस्तक जिरो माइलका लेखक समेत हुन् ।
यसै सन्दर्भमा विश्वविद्यालयले पुस्तकका बारेमा विद्यार्थीहरुसँग पत्रकार पन्थीको अन्तरक्रिया पनि गरेको छ । पुस्तकका विषयवस्तु र विद्यार्थीहरुको आलोचनात्मक क्षमताको विकाससंग सम्बन्धित रहेर आयोजित सो कक्षामा ८० विद्यार्थी सहभागी थिए ।
यसअघि अमेरिकाको सिका विश्वविद्यालयले पत्रकार पन्थीलाई मानार्थ विद्यावारिधिबाट सम्मानित गरेको थियो । पत्रकारितामार्फत् मानवताको भलाईका लागि विशिष्ठ योगदान दिएका कारण पन्थीलाई मानार्थ विद्यावारिधि दिइएको थियो । उनीद्वारा लिखित अन्य सामग्रीहरु पनि विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भइसकेको छ ।