शिक्षक संघ मकवानपुरद्वारा देउसी–भैलोको रकम भूकम्प पीडितलाई सहयोग

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार ०८:५०

मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरले देउसी-भैलोबाट उठेको रकम भूकम्प पीडितहरुका लागि सहयोग गरेको छ ।

संघले देउसी भैलोबाट उठेको ६० हजार १७० रुपैयाँ रकम भूकम्प पीडितलाई सहयोग गरेको शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले जानकारी दिए ।

देउसी भैलोबाट ६६ हजार १५५ रुपैयाँ संकलन भएको थियो । सो रकमबाट ५ हजार ९८५ रुपैयाँ व्यवस्थापन खर्च घटाएर ६० हजार १७० रुपैयाँ भूकम्प पीडितलाई सहयोग गरिएको अध्यक्ष हुमागाईंले बताए ।

उनका अनुसार, संघले सोमबार एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा उक्त रकम जम्मा गरेको हो ।