हेटौंडा उपमहानगरको संशोधित बजेट ३ अर्ब नजिक

तु खबर संवाददाता
२०८० पुष २२,आईतवार ०९:४३

मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको संसोधित बजेट ३ अर्ब नजिक पुगेको छ । चालु आर्थिक बर्ष २०८०/०८१ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै सनिवारको १४ औं नगर सभाबाट बजेटको आकार बढेको हो ।

हेटौंडा–१८ गुम्बाडाँडामा भएको उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संसोधन सहितको २ अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको बजेट पास गरेको हो ।
चालु आर्थिक वर्षको असारमा भएको नगर सभाले २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँकोे बजेट उपमहानगरले ल्याएको थियो ।

आन्तरिक राजश्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक वर्षको संसोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थपगर्दै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको राजश्व संकलनमा लक्ष्यअनुसारको आधा पुरा भैसकेको बजेट प्रस्तुतिकाक्रममा उपप्रमुख बानियाँले बताएका थिए । चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा पौष १५ गतेसम्म १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म ५० प्रतिशत राजश्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको उल्लेख छ ।

प्रस्तुत प्रतिवेदन अनुसार पूर्वाधार क्षेत्रतर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय ९५६ आयोजना गरी जम्मा १ हजार ११८ योजना रहेकोमा हालसम्म नगरस्तरीय १५ वटा आयोजना र वडा स्तरीय २१७ वटा योजना सम्झौता भैसकेको उल्लेख छ । सम्झौता भएका योजनामध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।

गतआर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरु मध्ये ११० वटा योजनाहरु सम्पन्नभई सकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेका उल्लेख छ । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मिटर, शैक्षिक पूर्वाधारतर्फ १ वटा, सांस्कृतिक जगेर्नातर्फ गुम्बा निर्माण तर्फ २ वटा, मन्दिर निर्माण तर्फ ५ वटा, मदरसा १ वटा र यात्रु प्रतिक्षालय १ वटा निर्माण भइसकेको उल्लेख छ ।

नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगरसभाले स्थानिय समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन लघु उद्यमिले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगायतका खाद्य पदार्थलाई ब्राण्डिङ् गरी बजारीकरण गर्ने र स्थानिय स्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषि उपजलाई प्रवद्र्धन गर्न होटल एशोसिएशनसँग समन्वय गरी नगरका सबै होटलका खाना सूचिमा समावेश गराउने प्रस्ताव पास गरेको छ ।
सभाले उपमहानगरमा आयआर्जन र समृद्धि कार्याक्रम सञ्चालन गरी बेरोजगार रहेका युवाहरुलाई सिपमार्फत् प्रत्यक्ष रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने प्रस्ताव पास गरेको छ । उपमहानगर क्षेत्रमा प्रर्यटकको आगमन बढाउँनका लागि बाह्य जिल्ला र भारतको पटना लगायत विहारका अन्य शहरसँग सस्थागत रुपमा प्रर्यटन प्रवद्धनका लागि आवश्यक सम्वाद र छलफल अघि बढाउने प्रस्ताव सर्वसम्मत स्वीकृत गरको छ । सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् विभिन्न ऐनहरु सर्बसम्मत पारित गरेको छ ।