जेष्ठ नागरिकलाई उपमहानगरको अभिमुखिकरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा रहेका जेष्ठ नागरिकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु भएको हो ।
बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमती प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संविधानले व्यवस्था गरे अनुसारको कानूनी प्रकृया, अधिकारबारे जानकारी, योजना तर्जूमा प्रकृयामा सहभागिता कसरी जुटाउन सकिन्छ र जेष्ठ नागरीकको स्वास्थ्य उपचारको बारेमा जानकारी गराइने महाशाखाले जनाएको छ ।
अभिमुखिकरणमा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाका अध्यक्ष बिष्णुगोपाल महर्जनले जेष्ठ नागरिक प्रतिको सम्मान घट्दै गएकोप्रति सचेत हुन जरुरी रहेको बताए । उनले बुढ्यौली लाग्दै जाँदा परीवारका सदस्यबाट छुटिनुपर्ने, धेरै ध्यान नदिने समस्या देखिएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरिकप्रतिको सम्मानलाई गुम्न नदिने वातावरण बनाउन जरुरी रहेको उल्लेख गरे ।
उनले जेष्ठ नागरिकको मनोभावनालाई समेट्नका लागि २ नम्वर वडा कार्यालयले आउँदो फागुनबाट जेष्ठ नागरीक सेवा केन्द्र सञ्चालन गर्न लागेको बताए । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने केन्द्रमा जेष्ठ नागरिकले आफ्नो समय बिताउन सक्ने बताइएको छ ।
कार्यक्रममा जेष्ठ नागरिकले पाउने यातायात छुटको सुबिधा उपमहानगरमा लागु भएकाले कार्यान्वयन प्रकृयामा लैजान माग गरेका थिए । मञ्च बागमती प्रदेशका अध्यक्ष पौडेलले राजधानी शहर भएपनि यातायात व्यवसायीले काठमाण्डौंसहित अन्य जिल्लामा जस्तो जेष्ट नागरिक सिट र छुटको व्यवस्था कार्यान्वयन नगरेकाले उपमहानगरले भूमिका निर्वाह गरिदन आग्रह गरेका थिए ।
नगर स्तरीय मञ्चले नगरका पाँच वडामा जेष्ठ नागरीक भेला गर्ने तयारी गरेको छ । मञ्चका नगर स्तरीय अध्यक्ष रामचन्द्र ढकालले नगरका ४, ७, १४, १७ र १९ नम्बर वडामा जेष्ट नागरिक र बालवालिकासँग अन्तरक्रिया गर्ने तयारी गरेको बताए ।
नगर स्तरीय अध्यक्ष ढकालको अध्यक्षतामा भएको अभिमुखिकरणमा महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महाशाखाका मन्दिरा थापा, जेष्ठ नागरीक मञ्च जिल्ला अध्यक्ष हरीप्रसाद सिग्देलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडामा गठित १९ वटै वडाका जृष्ठ नागरीक मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछानेले गरेकी छन् ।