श्यामकुमार बानियाँको ‘इच्छा’ बुझ्दा

सञ्जय साह मित्र
२०८० माघ १,सोमबार ०९:३४

काला रक्त पिपासुले धरतीमा, गर्जेर थर्काउँदा
बान्यौ अग्नि शिखा जुट्यौ समयमा बन्दूक पड्काउँदा
धर्तीमा समतानपार ममता, हुङ्कार औ गर्जदै
बैरीकालबटा सह्यौ समरमा, रक्ताक्त भै लम्कँदै ।

‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिक पत्रिकाको ५ औँ अंकमा प्रकाशित छ श्यामकुमार बानियाँको ‘इच्छा’ शीर्षकमा कविता । पत्रिकाको दशौँ पृष्ठमा प्रकाशित यो कविता सात श्लोकको रहेको छ । हरेक श्लोकमा चार पङ्क्ति छन् । दुई दुईको अन्त्यानुप्रास मिलाइएको छ ।

‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिकलाई ‘रौतहटको साहित्यिक कोसेली’ भनिएको छ । सुशीलकुमार झा प्रकाशक÷सम्पादक, रमेश हरि ढकाल ‘समर्थन’ प्रमुख सम्पादक तथा शीतल गिरी सहयोगी सम्पादक भनिएको यस ‘रौतहट रश्मि’ पत्राचार ठेगाना पत्रपत्रिका घर, गौर (रौतहट) भनिएको छ । यसले पनि यो पत्रिका रौतहटको हो भनी पछि परन्तुसम्म चिनाइरहन सजिलो भएको छ ।

साहित्यकार बानियाँको ‘इच्छा’ वर्ष २, अंक ५ मा सार्वजनिक छ जुन वैशाख–आषाढ २०५८ को हो । पत्रिकाको आवरण पृष्ठमा सूक्ति लेखिएको छ: लेखकले जुन ठाउँमा ग्लानी अनुभव गर्छ त्यो ठाउँ उसको शत्रु हो । यसका सूक्तिकार ईश्वर बल्लभ भएको बताइएको छ । यसलाई विचारणीय मान्न सकिन्छ ।

श्यामकुमार बानियाँ मकवानपुरे सर्जक हुन् । कुनै बेला आफ्नो जन्मथलोमा हेटौँडाबाट साहित्यकारहरुलाई लगेर कार्यक्रम गराउने बानियाँ मृगतृष्णा साहित्य डबलीका अध्यक्ष थिए । केही समय साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । मकवानपुरे साहित्य सर्जकहरुका बिचमा आफ्नो अलग्गै पहिचान स्थापित गरेका बानियाँले आफ्नो गाउँ मनहरीलाई छतिवन जस्तै साहित्यको माध्यमले कुनै समय चिनाउन खोजेका थिए । उनको सत्प्रयासमा स्थानीय नवयुवाहरुले पनि साथ दिएका थिए ।

बानियाँको आतिथ्य स्वीकार गरी हेटौँडाबाट मनहरी पुग्ने गरेका सर्जकहरुलाई बानियाँको अगुवाइमा स्थानीयले उच्च सम्मान गर्ने गरेका थिए । त्यहाँबाट फर्केपछि धेरै सर्जकले मनहरीको स्मृति अर्थात् संस्मरण पनि सिर्जना गरेका थिए । मनहरीमा ग्रामीण साहित्यको स्वाद पाइन्थ्यो र रचनामा हुन्थ्यो स्थानीय आक्रोश, असन्तोष, पीडा, समस्या, यथार्थ अनि प्रकृतिको काखमा हुँदाको आनन्द, सौन्दर्य, चेतना । बानियाँका रचनामा प्रौढता पहिलेदेखि नै पाइन्थ्यो । यद्यपि यस रचनामा तत्कालीन समयको एक पक्ष बोलेको छ ।
अनि ‘’ कविताको दोस्रो श्लोकमा एक पाइलो यसरी अगाडि बढ्छन् कवि बानियाँ:

मान्छेमा तिमिले भर्यौ जिजीविषा, उन्मुक्ति दर्शाउँदै
लम्केथ्यौ तिमीले यही धरणीमा, हुङ्कार औ गर्जदै
तिम्रा ती गरिमा भुले सकलले, बाटो सबै बिर्सिई
माताको सपना भइन् शव कठै व्यथा बढी सिर्जिई ।

अलिकति कथात्मक शैली यस खण्डमा पाउन सकिन्छ । काव्यमा कथा दिइनु पुरानै शैली हो । परिवेश निर्माण गरेर त्यसमा एउटा कथा न कता जस्तो बुनेर आफ्नो कथ्यलाई अगाडि बढाउने शैली यहाँ बानियाँले उपयोग गरेका छन् । परिवेश कस्तो सिर्जना भएको हो भन्ने कुरो बुझ्न खासै कठिन छैन । तत्कालप्रति अलिकति क्षोभ प्रकट भएको छ ।

जसले जीवनमा लड्यो समरमा, छोरा बनी देशको
यौटा बाग महाँअहो शहीदको, स्वप्न नफुल्दै झर्यो
बाटो भत्किरहेछ मानवहरु, यात्रा सहज छैन यो
मान्छेको ममता रहने अबता, नौलो कथा छैन यो ।

देशमा माओवादी द्वन्द्व चलिरहेको थियो त्यत्तिखेर । अलिकति त्यसको छनक पनि यहाँ पाइन्छ । साथै यहाँ देश भक्तिको भाव पनि झल्केको छ । शहीदप्रति सम्मान पनि प्रकट भएको छ र शहीदको सपना पूरा गर्नुपर्ने आभाष पनि रहेको छ । जसले यात्राको थालनी गरेको छ, उसलाई यात्रा कठिन छ । यद्यपि यात्रा पहिलो होइन, बिल्कुलै नौलो अवश्य नै होइन ।

होहल्ला छ जताततै धरतिमा, रुन्छन् सबै टाकुरा
पर्देशमै सहजै अहो किन रमे नेपालीको पाखुरा ?
गर्मीका दिनमा प्रभातपनको उम्दाहरु सम्झँदै
फर्केनन् किनती सपूत हेरछिन्, बाटो अकेली रुँदै ।

यस श्लोकको मियो दोस्रो पङ्क्ति हो । आधुनिक विश्लेषणमा यस श्लोकको बीजवाक्य हो । नेपाली विदेश पलायन भइरहेकोप्रति यसले प्रश्न उठाएको छ । वर्तमान पनि यसको जवाफको खोजीमा छ । यस पङ्क्तिलाई यस अर्थमा कालजयी मान्न सकिन्छ कि यो काव्य सिर्जना गर्दा जुन युग थियो, त्यो बितिसकेको छ । देश अर्को युगको शरणमा छ । तर पनि यहाँ देखाइएको समस्याले अहिले पनि समाधानको औषधि खोजिरहेको छ ।

ब्वाँसाको छलमा परी रुन्छे उषा कालमा
के ल्यायो सपना नवीन प्रगती नेपालीको चालमा
नेपालै नरहे रहन्न अब लौ, नेपालीको गौरव
अल्छी भै नसुतौ जुटौ समरमा, कात्रो कसीलौ अब ।

यो अंश पूर्णतया क्रान्तिकारी भावधारामा होमिएको छ । देशलाई जोगाउन क्रान्तिमा जुट्न आह्वान गरिएको छ । कविताको जुन शीर्षक रहेको छ: ‘इच्छा’, यसले अलिकति संकेतसम्म गरेको हो । यद्यपि कविता यही सिद्धिएको छैन । कविताको यस अंशले देशभक्तिको त्यस भावलाई समेटेको छ जुन अस्तित्वसित जोडिएको हुन्छ । नेपाल नै नरहे हाम्रो गौरव रहँदैन भन्ने भाव निकै गहन छ । यद्यपि यसपछिको पङ्क्तिमा आएको भावको परिवेश परिवर्तन भइसकेको छ ।

धुन्सेले पिठमा नछाडि कहिल्यै, रुनेहरुले उठून्
निद्रामा नतमस्त भै सकलयी सुन्नेहरुले उठून्
बेलाभो अब क्रान्तिमा रगडिने राँको लिई हातमा
बाचुञ्जेल समता बिना सकलले के बाँच्नु खै ब्यर्थमा ।

यस श्लोकको पूर्वाद्र्धमा पछाडि परेकाहरुले उठ्नुपर्ने आह्वान छ । तेस्रो पङ्क्तिले परिवेश निर्वाण गरी चौथो पङ्क्तिमा कविताको शीर्षकको छनक दिएको छ । समताको चाहना यसमा आएको छ । समता बिना बाँच्नु चाहिँ व्यर्थ हो भन्ने भावको लागि यस श्लोकको आयोजन गरिएको छ । र, यस श्लोकले अब कविता समापन तिर वा समापनको उत्कर्षतिर गएको भन्ने संकेत गरेको छ । वीर रसले भरिएको यस श्लोकपछि कविताको अन्तिम श्लोक यस्तो छ:

यी गाउँहरुका र बस्तिहरुका, युवाहरुले उठून्
हाम्रा यी रचनाहरु अजबले, बारुद बनी पड्कियोस्
मुक्तिको पथमा हिड्न अघिसरी झुत्रेहरुले पनि
काँडा फूल बनोस् सदा अजबले माग्नेहरुको पनि ।

निष्कर्षसहित यस श्लोकले कविताको समापन गरेको छ । कविका सबै ‘इच्छा’ हरुको यसमा प्रदर्शन गरिएको छ । युवाहरुमा अपार सिर्जना शक्ति हुन्छ । गाउँ र बस्तीका युवाहरुमा रहेको सिर्जना शक्तिले अब विस्तार बन्ने मौका पाउनुपर्छ । झुत्रेझाम्रेहरुका घरमा पनि घामको उज्यालो छिर्न पाउनुपर्छ । माग्नेहरुलाई पनि, अजबले, बाटो सरल हुनुुपर्छ अर्थात् अर्थात् माग्नेहरु पनि मुस्कुराउनुपर्छ । समाजमा समताको युग निर्माण हुनुपर्छ भन्ने कविताको अभ्यन्तरको चाहना हो, यसका लागि सबै एकजुट हुनुपर्छ र सबैले आफ्नो ठाउँबाट यस उद्देश्यका लागि अगाडि बढ्नुपर्छ, यसमा भनिएको छ ।

साहित्यकार श्यामकुमार बानियाँ छन्दमा रमाउने चाहने कवि हुन् । यस कविताले कवि बानियाँको प्रगतिशील काव्य स्वभावलाई अभिव्यक्त गर्दछ । दुई दशकभन्दा पहिले कवि बानियाँको मनमा समाजप्रति उम्रने भावलाई यस कविताले वर्तमानमा प्रदर्शन गरेको छ । कविको तात्कालिन भावलाई यस कविताले समाहित गरेर राखेको छ । साथै एक सक्षम र सामथ्र्यवान कवि बानियाँको दुई दशक पहिलेको क्षमतालाई पनि यसले जोगाएर राखेको छ ।

भनिन्छ, समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । राप्ती नदीमा कैयौँ बाढी र सुख्खाहरु आए र गए । अहिले हिउँद छ र कैयौँ हिउँद पहिलेको वसन्तमा यो कविता प्रकाशित देखिन्छ । यद्यपि यस कविताको रङ खुइलिइसकेको छैन । ग्रामीण परिवेशलाई काव्यमा दर्शन दिन सक्ने सक्षम कवि श्यामकुमार बानियाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

२९ पुस २०८०
मित्रनगर, गरुडा ४, रौतहट