स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते
रौतहट । रौतहटमा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् ।
जिल्लाको गढीमाई नगरपालिका–७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन, ४० की जयबुल खातुन, १५ की मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायत रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रहरीका अनुसार, ती घाइतेमध्ये ६० वर्षीया तेतरी खातुनको अवस्था गम्भीर रहेको छ । नाक, मुखमा गहिरो चोट लागेका उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचरको लागि गएराति नै नेशनल मेडिकल वीरगन्ज पठाइएको छ ।
घाइतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पश्चात घर फर्की सकेका छन् ।