हेटौंडाका वाइवाको आविस्कार अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीका लागि छनौट
मकवानपुर । ताइवानमा जनवरी २६ देखि फेब्रुअरी २ सम्म हुने अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी कार्यक्रममा हेटौंडा– ४ का शाश्वत वाइवाले आविस्कार गरेको मोवाइल एप्लिकेशन प्रर्दशन गरिने भएको छ । प्रदर्शनीका लागि छनौट प्रक्रियासम्पन्न भई ताइवान प्रस्थानको तयारी पूरा भएको जनाइएको छ ।
करिब ५० देशका युवा वैज्ञानिकहरुले गरेको छुट्टाछुट्टै आविस्कार प्रदर्शन गरिने सो कार्यक्रममा सहभागी हुन वाइवा ताइवान जान लागेको एष्ट्रोनोभा फाउण्डेशन नेपालले जनाएको छ ।
वाइवाले आविस्कार गरेको ‘एग्रो गार्ड’ मोवाइल एप आज फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा सार्वजनिकसमेत गरिएको छ । सो एप्लिकेशनले कृषकहरुलाई बालीनालीमा लाग्नसक्ने विभिन्न रोगहरुको विषयमा अग्रिम जानकारी गराउने मात्रै नभई रोग लागिसकेको अवस्थामा रोग निर्मूल पार्न आवश्यक औषधिबारे जानकारी प्रदान गर्ने जनाइएको छ ।
‘कृषकले सो मोवाइल एप्लिकेशनमार्फत् बोट विरुवाको स्क्यान गरेकै भरमा विरुवामा लाग्नसक्ने रोग, लागिसकेको अवस्थामा उपचारको विधि थाहा पाउन सक्छन्, साथै उत्पादनमा बृद्धि गर्न आवश्यक जानकारी पाउन सकिने हुँदा कृषकका लागि एप्लिकेशन निकै लाभदायी छ ।’ वाइवाले भने ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत वाइवाले एष्ट्रोनोभा फाउण्डेशनको सहयोगमा सो एप्लिकेशन आविस्कार गर्न सम्भव भएको भन्दै फाउण्डेशनप्रति आभार व्यक्त गरे । फाउण्डेशनले आफुलाई नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीमा लैजान लागेको उनले बताए ।
एप्लिकेशन सार्वजनिक कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष बास्तोलाले विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुर्याउन विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको जानकारी दिए ।
उनले सानै उमेरदेखि विद्यार्थीहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न फाउण्डेशनबाट निशुल्क कार्यशाला भइरहेको र इच्छुक जो कोही विद्यार्थीले आएर सिक्न सक्ने जानकारी दिए ।
सो कार्यक्रममा फाउण्डेशनका विदेश प्रतिनिधि एवम् नाइजेरियाका नागरिक बाबाटुण्डे आयोलाले बैज्ञानिक खोज अनुसन्धानको विषयमा जानकारी दिएका थिए ।