पूर्वमन्त्री बुढाथोकीको निधन

तु खबर संवाददाता
२०८० माघ २३,मंगलवार ०८:३०

काठमाडौँ । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिएका छन् ।

उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासनमन्त्री बनेका थिए । हप्ता अघिदेखि निमोनियाको समस्याले ग्रस्त उनको निधन भएको हो ।

उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी लेखक पनि हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।