वडा स्तरीय शैक्षिक महोत्सवको आयोजना गर्दै हेटौंडा–१५

तु खबर संवाददाता
२०८० फाल्गुन ५,शनिबार ०९:०७
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले प्रथम वडा स्तरीय शैक्षिक महोत्सव २०८० को आयोजना गर्ने भएको छ ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र सुधारको लागि यही फागुन ७, ८ र ९ गते तीन दिन महोत्सवको आयोजना गर्न लागिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।

वडामा रहेका ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयको प्रत्यक्ष सहभागितामा गरिने महोत्सव शिक्षाको गुणस्तर सुधार र सिकाइ सीप आदानप्रदानको लागि महत्वपूर्ण हुने उनको भनाई छ ।

९८ प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको उक्त वडामा शैक्षिक रुपले केहि पछाडी रहेको भन्दै वडाध्यक्ष मुक्तानले शैक्षिक महोत्सवले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे ।

उनले शिक्षामा सबैको चासो र लगानी बढाउनु पर्ने भन्दै वडामा रहेका संघसंस्था, वनसमिती, टोलविकास संस्था, सहकारीलगायत सबैलाई सहभागित हुन आग्रह गरे ।

विद्यार्थीसहित ३ हजार जनाको उपस्थितीमा मार्च पास गरी कार्यक्रम सुरु गरिने उनले बताए । उनका अनुसार, हेटौंडा १५ को वनदेवी आधारभुत माध्यमिक विद्यालयमा हुने महोत्सवमा विभिन्न शैक्षिक प्रदर्शनी तथा २० प्रकारका खेलहरु खेलाइनेछ ।

महोत्सवको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।